प्यूठान, वैशाख १३ गते । प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा ६ लिवाङका बाबुछोराको चट्याङ लागेर ज्यान गएको हो । ७० वर्षीय केदार बोहोरा क्षेत्री र २६ वर्षीय रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

मृतकको शवलाई जिल्ला अस्पतालमा राखिएको छ । शवको सोमबार विहान पोष्टमार्टम गरिने प्यूठान अस्पतालले जनाएको छ । चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाईते भएका छन । गौमुखी गाउँपालिका वडा ४ निवासी २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी गाउँपालिका वडा ६ निवासी ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

शनिबार दिउँसो माण्डवी गाउँपालिका वडा २ रातापानीका दुई जना दिदिबहिनीलाई चट्याङ लागेको थियो । २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।




