सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नेगरी सूचीकृत गर्ने

लोकप्रिय

काठमाडौँ, वैशाख १४ गते । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू जानकारी दिनुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सुरक्षण मुद्रण केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गर्नेसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने जानकारी दिनुभयो ।

प्रवक्ता पोखरेलले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यस्तै मन्त्रीपरिषद् बैठकले आर्थिक क्षेत्रमा सुधार ल्याउने उद्देश्यले भन्सार नियमावली २०८३ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो ।

यस्तैगरी पछिल्लो समय चर्चामा रहेको त्रिवि क्रिकेट मैदान खाली गराउने विषयमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले आजै त्रिभुवन विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारीहरूसँग भएको छलफल सकारात्मक रहेको र मैदान भत्काउने वा खाली गराउने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पार्नुभयो । मन्त्री पोखरेलले टियु क्रिकेट मैदानको सम्झौताको अवधि सकिएकोले नयाँ भाडा सम्झौतामार्फत सो मैदानलाई निरन्तरता दिइने बताउनुभयो । यसैगरी सरकारको सय दिने कार्ययोजना र ३० दिनको कार्य मूल्याङ्कनबारे जिज्ञासामा मन्त्री पोखरेलले सरकारले नागरिकहरूको पृष्ठपोषण र मूल्याङ्कनका आधारमा आफूलाई परिमार्जन गर्दै लगेको र सय दिने कार्यको लक्ष्यतर्फ वर्तमान सरकार दृढताका साथ उन्मुख रहेको बताउनुभयो ।

ताजा समाचार

Related Articles