काठमाडौँ, जेठ १४ गते । राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका मुख्य प्राथमिकता र सिद्धान्तबारे जानकारी गराउनुभएको छ ।

बिहीबार अपराह्न राष्ट्रपति कार्यालय पुगेर उहाँले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) का विषयमा राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्नुभएको हो । भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले सङ्घीय संसद्मा पेस गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभएको छ।

नेपालको संविधानको व्यवस्था बमोजिम अर्थमन्त्री डा. वाग्लेले भोलि जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अर्थ मन्त्रालयका अनुसार आगामी वर्षको बजेट निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।




