काठमाडौँ, जेठ २१ गते । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उहाँका समकक्षी डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उहाँहरूबिच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुने छ ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा यस भ्रमणले नेपाल र भारतबिच रहीआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहयोग गर्ने विश्वास लिइएको छ । परराष्ट्रमन्त्री खनाल यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।




