भरतपूर, जेठ २२ गते । बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई सम्मान गरेको छ । शुक्रबार भरतपुरमा एक कार्यक्रमका बीच प्रदेशभित्रका उत्कृष्ट चालक तथा सहचालकलाई सम्मान गरिएको हो ।
पुरानो नारायणी यातायात व्यवसायी संघ मकवानपुरको समन्वयमा प्रदेशको सार्वजनिक यातायात सेवा क्षेत्रको दीर्घकालीन, दुर्घटनारहित, अनुशासित र उत्तरदायी सेवाको मूल्याङ्कन गर्दै मकवानपुर, सिन्धुली, चितवन, काठमाडौँलगायतका १६ जना चालकलाई जनही २० हजार रूपियाँ र १६ जना सहचालकलाई जनही १५ हजार रुपियाँको नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

मन्त्रालयकी महाशाखा प्रमुख सुनिता गजुरेलको सभाध्यक्षतामा तथा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
यातायातको क्षेत्रलाई विकृतिबाट मुक्त बनाउन सबै चालक तथा सहचालक लाग्नुपर्ने प्रजिअ अर्यालले बताउनुभयो । महाशाखा प्रमुख गजुरेलले आफूले सेवा दिएको अवधिबाट कुनै दुर्घटना गरेको छ कि छैन कुनै प्रकारको अनुशासनहिन काम गरेको छ कि छैन भन्ने कुरालाई मूल्यांकन गरेर सम्मान गरिएको बताउनुभयो ।
कार्यक्रममा नारायण यातायात व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष हिरालाल श्रेष्ठ, चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर पौडेललगायतको उपस्थिति रहेको थियो ।




