जेनजी आन्दोलनमा भीमफेदी कारगारबाट फरार बन्दी चोरीमा संलग्न

लोकप्रिय

हेटौँडा, असार १२ गते । मकवानपुर प्रहरीले हेटौँडामा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको हिमागंगा गाउँपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–१५ फारलाइन बस्ने २५ वर्षीय मनोज पुलामी मगर रहेका छन् । प्रहरीले पक्राउ परेका मगरको कोठामा खानतलासी गर्दा चोरी भएका सुन, चाँदीका सिक्का, नगद तथा अन्य गरगहना बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार दिउँसो हेटौँडा उपमहानगरपालिका–७ क्याम्पडाँडा नजिक सनगुड कोलोनीस्थित कृष्णप्रसाद गौतमको घरमा कोही नभएको अवस्थामा घरको पूर्वतर्फको ढोका फुटाएर चोरी गरिएको थियो । घटनामा एक तोला सुन, २५ दशमलव ५ तोला चाँदी (१५ वटा सिक्का) तथा चार लाख रुपियाँ नगद चोरी भएको थियो ।

घटनापछि अनुसन्धानका क्रममा प्रहरीले मगर बस्ने कोठा पत्ता लगाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी माधवप्रसाद काफ्लेका अनुसार खानतलासीका क्रममा चोरीमा संलग्न सामग्री तथा नगद बरामद गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मगरसँग सोधपुछ गर्ने क्रममा उनी यसअघि भिमफेदी कारागारबाट फरार रहेका व्यक्ति भएको समेत खुलेको छ । चोरीको सामानसहित पक्राउ परेका मगरमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घरमा धेरै नगद तथा गरगहना नराख्न, घर छोड्दा छिमेकी वा आफन्तलाई जानकारी गराउन तथा सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles