चितवन, असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी हुनुभएको छ। चितवनको भरतपुरमा जारी पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट उहाँहरू विजयी हुनुभएको हो।

खुलातर्फको दुई सहमहामन्त्री पदका लागि ११ जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा सबैभन्दा बढी मत प्राप्त गर्दै हरि ढकाल र असिम शाह विजयी हुनुभएको हो। विजयी शाहले ४७१ मत पाउनु भएको छ भने ढकालले ४१० मत प्राप्त ल्याउनुभएको छ । नवनिर्वाचित सहमहामन्त्री शाह प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन सम्बन्धी कार्यदलका संयोजकसमेत हुनुहुन्छ।

सहमहामन्त्रीका अन्य प्रतिस्पर्धीमध्ये सुलभ खरेलले ३९१, पुकार बमले ३३४, रमेश प्रसाईंले ३०१, यज्ञमणि न्यौपानेले ३००, अशोककुमार चौधरीले १७९, मिलन लिम्बुले १५१, राजीव खत्रीले १४८, विजय जैरूले ११४ र हिमेश पन्तले ५३ मत प्राप्त गर्नुभएको छ। यसैगरी, रास्वपाको महिला सहमहामन्त्री पदमा निशा डाँगी निर्वाचित हुनुभएको छ। उहाँ ७३७ मत पाएर विजयी हुनुभएको हो। डाँगी यसअघि कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो। महिला सहमहामन्त्रीका लागि डाँगीसहित जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी र रीमा विश्वकर्मा चुनावी मैदानमा हुनुहुन्थ्यो।




