हेटौँडा, साउन २ गते । हेटौँडा उपमहानगरपालिका–६ रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौँडा–१७ का १४ वर्षीय युकेश राई डुबेर बेपत्ता भएपछि खोजी गरी उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो १ः१० बजे डुबेर बेपत्ता भएका बालकको स्थानीयवासी, नेपाल प्रहरी, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म हेटौँडा तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गरेको थियो । खोजीका क्रममा डुबेकै स्थानबाट उनको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको थियो ।

अस्पतालमा दिउँसो २ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । शव हेटौँडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




