खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरका विश्वासको मतको पिक्षमा मतदान गर्ने भएको छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलले थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । मुख्यमन्त्री थापाले सोमबार दिउँसो प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसले आफ्ना प्रदेश सभा सदस्यहरुलाई ह्विप जारी गरेको हो ।
कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको बताउनुभयो । उहाँले ह्विप जारी गर्दै प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिनुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । सोमबार दिउँसो १ः०० बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।




