हेटौँडा, भदौ ७ गते । बागमती प्रदेशको मकवानपुर र मधेश प्रदेशको रौतहट जिल्लाको वर्षौदेखिको सीमा विवाद पुनः बल्झिएको छ ।
मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर १ र चन्द्रपुर नगरपालिकाको उत्तरी क्षेत्रका बस्ती हटाउन डिभिवन वन कार्यालय रौतहटले भनेसँगै सीमा विवाद उल्झिएको हो । वन कार्यालयले बकैया गाउँपालिका वडा नं. १ को धियाल, मोरङ्गेलगायतका क्षेत्रमा बसोबास तथा भोगचलन गर्दै आएका स्थानीय जनतालाई घरटहरा खाली गर्नेलगायतका सूचना जारी गरेको छ ।
रौतहट र मकवानपुर जिल्लाको सीमा प्रमाणित नभएको अवस्थामा वन कार्यालयबाट सूचना जारी गरी धियाललगायतका क्षेत्रका बासिन्दालाई त्रसित बनाइएको स्थानीय बासिन्दा भनाई छ ।
वन कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गतको धनसर सब डिभिजन वन कार्यालयको उत्तरतर्फ चुरे पानी ढलो मकवानपुरको सिमानाभित्रलगायतका स्थानका राष्ट्रिय वन क्षेत्रभित्र खेतीपाती गर्ने, घरटहरा निर्माण गर्ने, घडेरी कायम गर्ने तथा अन्य प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्ने गरेको पाइएकोले उक्त क्षेत्र खाली गर्न सूचना जारी गरेको छ ।
उक्त सूचना जारी भएपछि बकैया १ का प्रभावित स्थानीयले आफूहरुले वर्षौँदेखिको बसोबास र भोगचलनलाई असर पर्ने गरी सूचना जारी गर्नु अन्यायपूर्ण भएको भन्दै यस विषयमा तत्काल आवश्यक छानबिन गरी वास्तविक सीमा यकिन गरिदिन र छानबिन पूरा नभएसम्म जनतालाई विस्थापित गर्ने कार्य रोकिदिन सरकारसँग माग गरेका छन् ।
बकैया गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष विश्वराज लामा दुवै प्रदेश र स्थानीय सरकारबिच छलफल बिना वन कार्यालयको सूचना आउनु उपयुक्त नभएको बताउनुहुन्छ ।
बकैयामा आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्षौ बसोबास गर्दै आएको, वडा कार्यालय र विद्यालयसमेत रहेको बस्ती खाली गर्न भन्दै एकाएक वन कार्यालयले सूचना जारी गर्नु न्यायपूर्ण नभएको उहाँले बताउनुभयो ।
मकवानपुरको बकैयाका मतदाता हुन्, लालपुर्जाका लागि मकवानपुरबाट आवेदन दिएका छन्, पुर्जा पाउने प्रक्रियामा रहेको छ, सामुदायिक वन मकवानपुरमा नै दर्ता भएको छ प्रवक्ता लामाले भन्नुभयो, ऐलानी जग्गाको नाप जाँच यतैबाट भएको छ । स्थानीय सरकारसँगको सम्पर्क र समन्वय बिना सूचना जारी गर्नु उचित होइन ।
उहाँले अगाडि भन्नुभयो, मानसिक तनाव दिने काम भएको छ तत्काल रोक्नु आवश्यक छ ।
उहाँका अनुसार साविकको धियाल गाविसमा पर्ने सो क्षेत्रमा ४९६ घरधुरी र चार हजार ४७ जनसङ्ख्या रहेको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्तबहादुर खत्रीको उपस्थिति रहेको थियो ।
मकवानपुरको बकैया र रौतहट जिल्लाबिचको सीमा विवाद नसल्टदै बस्तस् खाली गर्न सूचना आएपछि स्थानीय त्रसित बनेको स्थानीय साजन तामाङले बताउनुभयो ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिकाले स्थानीयको बसोबास, हक–अधिकार र सुरक्षालाई ध्यानमा राखी सीमा तथा जग्गासम्बन्धी विवादको समाधान खोजिनुपर्नेमा जोड दिँदै आएको बताउनुभयो ।
उहाँले उहाँले अब दुई प्रदेशबिचको सीमा समस्या बनेको भन्दै आफू निर्वाचित भएदेखि प्रदेश र सङ्घीय सरकारसँग मकवानपुर र रौतहटको सीमा विवाद समाधान गर्न आग्रह गर्दै आएपनि अझै समस्या उस्तै रहेको बताउनुभयो ।
उता राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति सञ्जीव पाठकले गाउँपालिका वडा नं. १ मा रौतहट वन डिभिजन कार्यालयबाट वन अतिक्रमणसम्बन्धी सूचना टाँसिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै मकवानपुर जिल्लाको सरोकारवाला निकायहरुसँग छलफल बिना वर्षौदेखि बसोबास गर्दै आईरहेको क्षेत्रमा एउटा वडै खाली गराउने गरी सूचना आउनु उपयुक्त नभएको बताउनुभयो ।
सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीहरुलाई पुर्जा वितरण गर्नु पर्ने अबस्थामा आएको सूचनाले स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना गरेको उहाँको भनाई छ ।
डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत मनोज ठाकुरद्वारा जारी सूचनामा पूर्वतर्फको अल्लाजोर खोला, पश्चिमतर्फ धनसर खोला, उत्तरतर्फ चुर पानी ढलो र दक्षिणतर्फ महेन्द्र राजमार्गको सीमाभित्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन भनिएको छ ।




