त्रिभुवनराजपथमा ट्रक दुर्घटना

लोकप्रिय

हेटौँडा, भदौ २७ गते । मकवानपुरको थाहा नगरपालिका–११ नौखण्डेस्थित त्रिभुवनराजपथमा रड बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । भैरहवाबाट काठमाडौँ जाँदै गरेको बा.प्र.०३–००१ ख ४३५३ नम्बरको १२ चक्के ट्रक शनिबार बिहान घुम्तीमा मोड्न नसक्दा सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको हो ।

दुर्घटनामा ट्रक चालक हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका ३२ वर्षीय राकेश तामाङ घाइते हुनुभएको छ । उहाँको दुवै खुट्टा र हातमा चोट लागेको तथा अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

घाइते तामाङलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकमा क्षति पुगेको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पालुङबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाका कारण सडकमा यातायात अवरोध नभएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles