गाईघाट, भदौ २७ गते । उदयपुरको कटारी नगरपालिका –८ कोलबोटमा चट्याङ लागेर गम्भीर घाइते भएका ३५ वर्षीय रुद्र तामाङको शनिवार साँझ मृत्यु भएको छ। आफ्नै घरको झ्याल बन्द गर्ने क्रममा दिउँसो करिब ३ बजे वर्षासँगै अचानक परेको चट्याङको झट्का लाग्दा स्थानीय कृष्णबहादुर तामाङका छोरा तामाङ घाइते हुनुभएको हो ।

घटनाबारे स्थानीयले अपराह्न करिब ४ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी सहायक निरीक्षक तीर्थबहादुर माझीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते तामाङलाई साँझ ५ः५५ बजे उपचारका लागि कटारी अस्पताल पठाइएकोमा त्यहाका चिकित्सकले उहाँको मृत घोषणा गरेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागार्इले बताउनुभयो।

घटनास्थल अपर प्रहरी पोष्ट बेतिनीबाट करिब ५ किलोमिटर पश्चिममा पर्छ। मृतकको शव कटारी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




