त्रिशूली (नुवाकोट), भदौ २७ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले पुर्याएको क्षतिको पुनरुत्थानमा सम्पूर्ण शक्ति एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

बाढीले पुर्याएको क्षतिको धादिङको गल्छीदेखि नुवाकोटको विदुर नगरपालिका–१० भैँसेसम्मको स्थलगत अवलोकनपछि विदुरमा आज आयोजित सर्वपक्षीय छलफलमा संयोजक दाहालले यसलाई ‘हिमालय विपत्ति’ को सङ्ज्ञा दिँदै पुनरुत्थानका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

आपतकालीन समयमा योजनाबद्ध रूपमा काम गर्नसक्ने अवस्था नहुँदा पनि बाढीले पुर्याएको क्षतिपछि खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालनमार्फत प्रभावित बासिन्दालाई दिएको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले दीर्घकालीन समाधानका लागि अब पुनर्वासको कार्यक्रम ल्याउनु आवश्यक रहेको बताउनुभयो ।

“बाढीले ठूलो मात्रामा मानवीय र भौतिक पूर्वाधारमा क्षति पुर्याएको रहेछ”, संयोजक दाहालले भन्नुभयो, “क्षति पुगेका सडक, पुल, विद्यालयसहितका सामुदायिक तथा सरकारी सेवा जतिसक्दो चाँडो सञ्चालन गराई प्रभावित बासिन्दाको दैनिकी सहज बनाउन जोड दिनुपर्छ ।”




