लोकप्रिय

मकवानपुर, भदौ २७ गते । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले संघीय सरकारले सार्वजनिक खरिद ऐन र नियमावलीमा गरेको पछिल्लो संशोधन सकारात्मक भएको बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ मकवानपुरको २६ औँ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनको शनिबार भएको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान सरकारले निर्माण व्यवसायीको पक्ष र हितमा हुने गरी कतिपय राम्रा  विषयहरु ल्याएको भन्दै विगतमा निर्माण व्यवसायीले धेरै ठेक्काको जिम्मा लिँदा ठेक्का नै अलपत्र पर्ने र निर्माण व्यवसायीको अवस्था समेत कमजोर हुने गरेको बताउनुभयो । उहाँले व्यवसायीको हितका लागि व्यवसायीबिच सम्पूर्ण एकता आवश्यक भएको भन्दै निर्माण व्यवसायीहरु सामाजिक सुरक्षा कार्यक्रममा आफ्नो कामदार, श्रमिकलाई समेट्न आग्रह गर्नुभयो ।

बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले तीन तहको सरकारको पुँजीगत बजेटको ठुलो हिस्सा भौतिक पूर्वाधारमा खर्च हुने गरेको चर्चा गर्दै निर्माण व्यवसायीले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य भारती पाठकले निर्माण व्यवसायीहरुको समस्या समाधानका लागि सहजीकरण गर्ने खरिद ऐन र नियमावलीमा भएको पछिल्लो संशोधनले काम गर्न नसकिने गरी ठेक्का प्रतिस्पर्धा गर्ने प्रथालाई निरुत्साहित गर्ने बताउनुभयो ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष बालकृष्ण थापा, पूर्व अध्यक्ष जयराम लामिछाने, महासचिव शिवहरि घिमिरे, नीतिगत महासचिव मङ्गल शाही, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घका अध्यक्ष छत्रबहादुर तामाङलगायतले निर्माण सामाग्रीमा विगतमा भएको मूल्य वृद्धिका आधारमा निर्माण व्यवसायीले गरेको काममा मूल्य समायोजन गरी भुक्तानी गर्न सरकारसँग माग गर्नुभयो । आइतबारसम्म चल्ने वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी तीन वर्षका लागि सङ्घको नयाँ नेतृत्व चयन गर्ने छ ।

ताजा समाचार

Related Articles