काठमाडौँ, असोज ११ गते । आफ्ना पितृप्रति कृतज्ञता जनाउँदै गरिने सोह्र श्राद्ध अर्थात पितृपक्ष आजबाट सुरु भएको छ । आज पहिलो दिन प्रतिपदा तीथिको श्राद्ध गरिएको हो । पितृबाट पाएको जीवन एवं चेतनालाई सम्मान गर्न सोह्र श्राद्धको व्यवस्था गरिएको ज्योतिष पण्डित लेखनाथ शास्त्रीले बताउनुभयो।

पुराणमा उल्लेख भएअनुसार भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औंसी (अमावास्य) सम्मका १६ दिनलाई पितृपक्ष भनिन्छ । आफ्ना पिता, माता वा पूर्वजको जुन तीथिमा मृत्यु भएको हो, सोह्र श्राद्धको सोही तीथिमा श्राद्ध गरिन्छ । छुटेमा अन्य तीथिमा पनि गरिन्छ । श्राद्धसम्बन्धी व्यवस्था गरुड पुराण, स्कन्द पुराण, शिवपुराण, अग्नि पुराण पद्म पुराण लगायत पुराणमा उल्लेख छ।

आश्विनी नक्षत्रमा सूर्यको गति पुगेपछि पितृले दुःख पाउने मान्यता रहेकाले पितृपक्षमा सोह्र श्राद्ध गर्ने गरिएको हो । यस अवधिमा दिवङ्गत पितृको स्मरण गर्दै तर्पण र पिण्डदान गर्नाले पितृ ऋणबाट मुक्ति पाइने ज्योतिष पण्डित शास्त्रीको भनाइ छ । हिन्दू धर्ममा पुनर्जन्मको अवधारणा भए पनि पापकर्मका कारण दुःख पाउनुभएका पितृको उद्धारका लागि पितृपक्षमा श्राद्ध गर्ने चलन छ।




