काठमाडौँ, असोज २७ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बेरुजु घटाउने कार्यलाई विशेष प्राथमिकता दिए पनि सोचे अनुसार प्रगति गर्न सकेको छैन । हरेक वर्ष बढिरहेको बेरुजु रकमले विश्वविद्यालयमा आर्थिक अनियमितता बढ्दै गएको देखाएको छ । त्रिविले बेरुजु फस्र्योटलाई विशेष अभियानका रूपमा सञ्चालन गर्ने गरी हरेक वर्ष नीति तथा कार्यक्रम बनाउने गरेको छ ।

यस्ता कार्यक्रम प्रभावकारी हुन नसक्दा बेरुजु बढिरहेको तथ्याङ्कले देखाएको छ । महालेखा परीक्षकको कार्यालयको ६३ औँ प्रतिवेदन अनुसार त्रिविको बेरुजु ३२ अर्ब ९८ करोड २६ लाख ८५ हजार रुपियाँ छ ।

बेरुजु रकम अघिल्लो वर्ष ३० अर्ब ५५ करोड ६२ लाख रुपियाँ थियो । बेरुजु फस्र्योट अभियान सञ्चालन गर्दा घट्नुपर्नेमा एक वर्षमा उल्टै दुई अर्ब ४४ करोड ६९ लाख ९९ हजार रुपियाँ बढ्नुले विश्वविद्यालयमा आर्थिक लक्ष्य हासिल गर्न हम्मे परेको देखिन्छ । त्रिवि सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख आठ हजार रुपियाँ बजेट पारित गरेको छ तर मुलुककै सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालयमा बेरुजु नै वार्षिक बजेटभन्दा दुई अर्ब रुपियाँ बढी देखिएको छ ।

त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले बेरुजु समपरीक्षणलाई त्रिविले पहिलो प्राथमिकतामा राखेर बेरुजु फस्र्योटलाई तदारुकताका साथ अगाडि बढाउन विशेष व्यवस्था मिलाउन लागिएको बताउनुभयो । उहाँका अनुसार महालेखाको प्रतिवेदनमा लेखा परीक्षण गर्न बाँकी रहेको भनेर औँल्याइएका त्रिविका केही निकायमा लेखा परीक्षण सम्पन्न भइसकेको छ ।




