काठमाडौँ, असोज २७ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी हुनुभएको छ । कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न मतगणनामा खतिवडा र शिवाकोटी विजयी हुनुभएको हो । उक्त पदमा नौ जना प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले खतिवडाले दुई हजार ९१० र शिवाकोटीले दुई हजार १७३ मत प्राप्त गरी विजयी हुनुभएको जानकारी दिनुभयो ।

डिल्लीराम सुवेदीले एक हजार ८५२, देवेन्द्रराज कँडेलले एक हजार ३८१, राजीव ढुङ्गानाले एक हजार २३२, विकास कोइरालाले एक हजार १४४, अमृत अर्यालले ९२१, रमेशप्रसाद धमलाले ७८० र विमलराज क्षेत्रीले २८३ मत प्राप्त गर्नुभयो ।

यस्तै, महिला सहमहामन्त्री पदमा प्रतिमा गौतम विजयी हुनुभएको छ । महिला सहमहामन्त्री एक पदका लागि भएको निर्वाचनमा गौतमले पाँच हजार ११६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी नानु बाँस्तोलाले एक हजार ५५४ मत प्राप्त गर्नुभयो ।




