खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २९ गते । छठ पर्वको तेस्रो दिन, छठ पर्वका व्रतालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गरेका छन् । जसलाई सन्ध्या अर्घ्य भनिन्छ, भक्तजनहरू अस्ताउँदो सूर्यलाई नदी, पोखरी तथा अन्य जलाशयका किनारमा भेला भएर अर्घ्य अर्पण गरेका हुन् ।

मकवानपुरका हेटौँडा, थाहा नगरलगायतका स्थानका खोला किनारमा पानीमा डुबेर सूर्यलाई अर्घ्य चढाएका छन् । कतिपय व्रतालु बत्ती जगाएर छठ घाटमै बास बसेका छन् ।सोमबार बिहान पुनः यसैगरी उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य चढाइने छ ।
छठ घाटमा व्रतालुसँगै उनीहरुको परिवारका सदस्य र दृश्यावलोकन गर्न पुगेकाहरुको हेटौँडाको राप्ती तटमा बाक्लो चहलपहल थियो । देशका विभिन्न भागमा पोखरी, खोला, नदी, नहर तथा अन्य जलाशय किनारमा छठघाट तयार पारेर छठी मैयाँको पूजा गरिएको छ ।
कतिपयले कृत्रिम पोखरी निर्माण गरेर घरमै छठ पूजा गरेका छन् । विभिन्न जातजाति तथा सामुदायका मानिसले सामूहिक रुपमै छठपर्व मनाइरहेका छन् ।

व्रतालुले बाँसको सुपली र ढकनीमा सजाइएका नरिवल, उखु, केरा, ठेकुवा, फलफूल लगायतका पूजा सामग्रीसहित अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन् । छठ पर्वलाई परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा आरोग्यको कामना गर्दै मनाइने विशेष पर्वका रूपमा लिइन्छ ।
केही वर्षअघिसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले भित्री मधेश, पहाड हुँदै राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । छठ पर्वको अवसरमा सोमबार समेत सङ्घीय सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।




