ललितपुर, कात्तिक २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आज साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिनुभएको छ ।

उपराष्ट्रपति यादवले पहिला कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतिर्थ फुटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गर्नुभएको हो । राजतीर्थमा छठ पूजामा सहभागी हुन आउनुभएका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई छठ पूजा सेवा समाजका अध्यक्ष राकेश मेहेताले स्वागत गर्नुभएको थियो ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरी यो पर्व मनाइन्छ । त्यस्तै, ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरेका छन् । बागमती, नख्खु, कुपन्डोल, विष्णुमती तथा बोजेपोखरीलगायत नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ ।




