काठमाडौँ, कात्तिक २९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९।१ ओभरमा १२९ रनमा समेटियो । यस जितसँगै कर्णालीले प्रतियोगिताको लिग चरण सुखद रूपमा टुङ्ग्याएको छ । यद्यपि, कर्णाली प्लेअफमा पुग्न सकेन भने चितवनले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

चितवनका लागि उसामा मिरले अविजित २८ रन बनाउनुभयो । कामिल मिश्राले २५, कुशल मल्लले १८ र देव खनालले १४ रन जोड्नुभयो । बलिङतर्फ कर्णालीका हुसैन तलातले तीन विकेट लिनुभयो । पवन सर्राफ र मार्क वाटले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

कर्णालीका लागि हुसैन तलातले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गर्नुभयो । यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ र पवन सर्राफले १५ रन बनाउनुभयो । चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले दुई–दुई विकेट लिनुभयो भने सिकन्दर रजा र रिजन ढकालले एक–एक विकेट लिनुभयो ।




