हेटौँडा, मंसिर १ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने भन्दै उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरेर करको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौँडाले हेटौँडामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापा मगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य करको भार बढाउने होइन, उत्पादन र आर्थिक गतिविधि बढाएर कर तिर्न सक्ने नागरिक तथा व्यवसायको संख्या बढाउने हुनुपर्दछ ।”
‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाउने क्रममा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले उक्त नारा दिवसको औपचारिक सन्देशमा मात्र सीमित नराखी राज्य सञ्चालन र आर्थिक विकासको व्यवहारिक आधार बनाउनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री थापा मगरले कर प्रणाली न्यायपूर्ण भए मात्रै आर्थिक असमानता घटाउन, सामाजिक न्याय कायम गर्न र आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो । “जसको आर्थिक क्षमता बढी छ, उसले आफ्नो क्षमताअनुसार बढी योगदान गर्नुपर्छ । न्यून आय भएका नागरिकमाथि अनावश्यक करको भार पर्नु हुँदैन,” उहाँले भन्नुभयो, “इमानदारीपूर्वक कर तिर्ने नागरिकलाई निरुत्साहित गर्ने र कर छली गर्नेले लाभ पाउने अवस्थाको अब अन्त्य हुनुपर्छ ।”
उहाँले करको उद्देश्य राज्यको ढुकुटी भर्नु मात्र नभई न्यायपूर्ण र समावेशी अर्थतन्त्र निर्माण गर्नु पनि भएको स्पष्ट पार्नुभयो ।
बागमती प्रदेशमा उद्योग, व्यापार, पर्यटन, कृषि, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, निर्माण तथा सूचना प्रविधिमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले त्यसलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजस्व चुहावट, कर छली र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गर्दै कर प्रशासनलाई सरल, पारदर्शी र नागरिकमैत्री बनाउने प्रदेश सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रम प्रमुख कर अधिकृत लक्ष्मी पराजुलीको अध्यक्षतामा भएको थियो । कर दिवसको अवसरमा यसअघि हेटौँडा बजारमा प्रभात फेरिको आयोजना गरिएको थियो ।




