खासकुरा संवाददाता
हेटौँडा, मंसिर २ गते। १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन तथा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा फरार रहेका मुख्य प्रतिवादी शिव कुमार लामिछाने (विश्वकर्मा) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर २ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष टोलीले उनीहरूलाई सुनसरीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुनसरीको धरान उपमहानगरपालिका–१२ जन्मस्थान भई हाल काठमाडौं महानगरपालिका–२२ बस्ने वराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक ४५ वर्षीय शिव कुमार विश्वकर्मा (लामिछाने) र धरान–१५ बस्ने ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन् । भण्डारी सोही सहकारीको ऋण उपसमिति सदस्य, ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी तथा वराह ग्रुप १ नं. प्रदेश सचिवालयकी सदस्य हुन् ।
कसरी भएको थियो ठगीः
धरानमा मुख्य कार्यालय रहेको वराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग आबद्ध नेपालभर ३० वटा र विदेशमा ४ वटा गरी जम्मा ३४ वटा कम्पनी स्थापना गरी वचतकर्ताहरूको रकम अपचलन तथा ठगी गरिएको प्रहरीले जनाएको छ । यस प्रकरणमा १७ हजार १० जना पीडितमध्ये शंकर थापासमेत चार हजार २४३ जनाको जाहेरी परेको छ, जसमा कुल बिगो १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार पक्राउ परेका दुवै जनामाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।




