खासकुरा संवाददाता
हेटौँडा, मंसिर २ गते । राजस्व चुहावट मुद्दामा ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र २ वर्ष कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ (साविक जयनगर गाविस–४) का ३३ वर्षीय गुलसन श्रीवास्तव रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा श्रीवास्तवलाई मंसिर २ गते पर्साको वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.राद्वारा जारी विज्ञप्ति अनुसार श्रीवास्तव विभिन्न ५ वटा फर्मका प्रोपाइटर हुन् ।

उनले सांग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयंक इन्टरप्राइजेज, शुभ लक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनल कम्पनीहरूमार्फत झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (मूअकर) विजक जारी गरी राजस्व चुहावट गरेको कसुरमा उच्च अदालत पाटनले वि.सं. २०८१ वैशाख २४ गते सजाय सुनाएको थियो ।
अदालतको उक्त फैसलाले श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय ठहर गरेको थियो । सजाय बेरुजु भई फरार रहेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ ।




