काठमाडौँ, मंसिर २ गते। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । उहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी मन्त्रालयले तीव्र रूपमा गरिरहेको जानकारी दिनुभयो । भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी विस्तारमा जोड दिइनेछ । साथै विकास सहायता, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल हुने जनाइएको छ । भ्रमणमा हवाई कनेक्टिभिटी विस्तार, नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, रेलवे तथा सडक सञ्जाल विस्तार र ऊर्जा क्षेत्रको पूर्वाधार विकासका एजेन्डा प्राथमिकतामा रहने बुझिएको छ ।

रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलवेको शुभारम्भ, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार गर्ने, रक्सौल–काठमाडौँ रेलमार्गको सम्भावना तथा अन्य रेलवे सम्पर्क विस्तारका विषयमा सहमति हुने अपेक्षा गरिएको छ । त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आइसीपी) निर्माण र विद्युत् प्रसारण लाइन विस्तारका विषय पनि छलफलको एजेन्डामा रहनेछन् । विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग तथा विकास निर्माणका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि भ्रमणका क्रममा छलफल हुनेछ ।

दुई देशबीच नागरिकस्तरमा सम्बन्ध विस्तार, सीमापार भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने विषय पनि छलफलमा समेटिने सम्भावना छ । त्यस्तै उहाँको आसन्न भारत भ्रमण प्रधानमन्त्री भएपछि छिमेकी मुलुकको पहिलो औपचारिक भ्रमण हुनेछ ।




