हेटौँडा, मंसिर २ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ धादिङस्थित शारदा माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित गाउँपालिकास्तरीय पुरुष भलिबल, कक्षागत फुटबल तथा अभिभावक शैक्षिक लोकदोहोरी प्रतियोगितामा विजयी टोली तथा समूहलाई पुरस्कृत गरिएको छ।
वार्षिकोत्सवअन्तर्गत आयोजित मकवानपुरगढी गाउँपालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा मकवानपुरगढी–७ सुकौरास्थित गेप डाँडा युवा क्लब प्रथम भएको छ। क्लबले ४० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा शारदा माध्यमिक विद्यालयको टोली द्वितीय हुँदै २५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।
अभिभावक शैक्षिक लोकदोहोरी प्रतियोगितातर्फ देविथान टोल विकास संस्था प्रथम हुँदै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। सहिद वासुदेव टोल विकास संस्था १० हजार रुपैयाँसहित द्वितीय, कालिवन टोल विकास संस्था पाँच हजार रुपैयाँसहित तृतीय र भूमिचुली टोल विकास संस्था तीन हजार रुपैयाँसहित सान्त्वना भएका छन्।
त्यसैगरी, कक्षागत सेभेन ए साइड फुटबल प्रतियोगितामा कक्षा ७ प्रथम र कक्षा १० द्वितीय भएका छन्।
भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ४० हजार रुपैयाँ राजु मेडिकल हल चौघडाका सञ्चालक राजु गुरुङले प्रायोजन गर्नुभएको थियो। द्वितीय पुरस्कार २५ हजार रुपैयाँ आरजीएस पोल्ट्री फार्मका सञ्चालक राजकुमार श्रेष्ठले प्रायोजन गर्नुभएको थियो। त्यसैगरी, लोकदोहोरी प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार रुपैयाँ दाजुभाइ सप्लायर्सका सञ्चालक दिनेश दाहालले प्रायोजन गर्नुभएको थियो।
वार्षिकोत्सवको उद्घाटन मकवानपुरगढी गाउँपालिकाका कार्यवाहक अध्यक्ष मानकुमारी पाख्रिन नेपालीले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दीपेश दाहाल र वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्यता रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक इन्द्र कार्कीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
२०३२ सालमा स्थापना भएको विद्यालयले शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। गत वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा शतप्रतिशत नतिजा हासिल गर्न सफल विद्यालयले शैक्षिक गतिविधिसँगै विद्यार्थीको अतिरिक्त क्षमता विकास र खेलकुद प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ।




