रास्वपा मकवानपुरका उपसभापति थापा पदमुक्त

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मंसिर ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश समितिले मकवानपुर जिल्ला उपसभापति टाकाराज थापा (सुरेश) लाई उपसभापति पदको जिम्मेवारीबाट मुक्त गरेको छ ।

प्रदेश समितिको बैठकले थापालाई जिल्ला उपसभापतिको पदबाट मुक्त गर्ने निर्णय गरेको हो ।
पार्टीको बागमती प्रदेश कार्यालयले बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार मकवानपुर जिल्ला समितिबाट प्राप्त प्रतिवेदन तथा बागमती प्रदेश समिति अन्तरगतको कानुन विभागले सिफारिस गरेको प्रतिवेदनमाथि छलफल गरी थापालाई पदको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको हो ।
बैठकले उक्त निर्णयको जानकारी पार्टीको केन्द्रीय संगठन विभाग र अनुशासन आयोगलाई समेत गराउने निर्णयसमेत गरेको छ ।

यसैगरी, प्रदेश समिति बैठकले प्रदेश सदस्यमा कवीन्द्र कार्की र विष्णुबहादुर कार्कीलाई अनुमोदन गरेको छ । त्यस्तै, काभ्रे जिल्ला–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बदनकुमार भण्डारी काफ्लेले प्रदेश सदस्यबाट दिनुभएको राजीनामा राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले पार्टीका विभिन्न पाँच विभागका प्रमुखसमेत नियुक्त गरेको छ । नियुक्त हुनेमा संगठन विभाग प्रमुखमा मिनप्रसाद गैरे, प्रशिक्षण विभाग प्रमुखमा डा. कृष्णमान शाक्य, अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा प्रदीप पुडासैनी रहनुभएको छ ।

त्यसैगरी, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभाग प्रमुखमा सफल थापालिया र सार्वजनिक लेखा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विपिन घिमिरे नियुक्त हुनुभएको छ ।
प्रदेश समितिको बैठकले विभागीय प्रमुख तथा आयोग प्रमुख नियुक्तिसम्बन्धी आवेदनमाथि समेत छलफल गरी सर्वसम्मत रूपमा निर्णय गरेको पार्टीको बागमती प्रदेश समितिले जनाएको छ ।
यस निर्णयसँगै रास्वपा बागमती प्रदेश समितिले संगठनात्मक जिम्मेवारी हेरफेर तथा विभागीय संरचनालाई थप व्यवस्थित बनाउने प्रक्रिया अघि बढाएको देखिएको छ।

ताजा समाचार

Related Articles