रास्वपाले प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गर्ने

लोकप्रिय

काठमाडौँ, मङ्सिर ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मङ्सिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ ।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नु हुनेछ । दुई  दिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्य मान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइने सो दलले जनाएको छ । साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी सङ्गठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुने प्रवक्ता खरेलले बताउनुभयो ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग सङ्गठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ। दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ। त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिनुभयो । कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles