हेटौँडा, माघ २० गते ।
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशन सुरुभएको पहिलो दिन शुक्रबार प्रदेश सभाको बैठक बोलाउन गरिएको सूचनालाई लिएर नोकझोक चलेको छ ।
बागमती प्रदेश सभाको अधिवेशन आव्हानको सूचना सामान्यतया एक साताअघि नै दिनुपर्ने प्रचलन विपरीत तीनअघि मात्र प्रदेश सभा सदस्यलाई जानकारी गराइएपछि प्रदेश सभाको पहिलो दिनको बैठकमा नै आपत्ति जनाइएको हो ।
प्रदेश सभाको प्रमुख विपक्षी दलको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सामान्यता प्रदेश सभाको बैठकको सूचना एक हप्ता अगाडि आउने प्रचलन विपरीत तीन दिन अघि मात्र आएको भन्दै प्रदेशसभाको शुक्रबारको बैठकमा आपत्ति जनाउनुभएको हो ।
प्रदेश सभा अधिवेशनको सफलताको लागि शुभकामना दिन प्रदेश सभाका सभामुखले समय दिएपछि उहाँले यो विषय प्राविधिक मात्र होइन यो विषयलाई प्राविधिक हिसाबले मात्र हेरिनु हुँदैन र यो गम्भिर विषय भएको बताउनुभयो ।
प्रदेश सभाका सदस्यहरुलाई प्रदेश सभा अधिवेशनको सूचना तीन दिन अघिमात्र आएको प्रसंग उल्लेख गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका जम्कट्टेलले प्रश्न गर्नुभयो, यो कतै प्रदेशप्रतिको अरुचि हो कि ? बेवास्ता गरिएको हो कि ? प्रदेश सभाको अबमूल्यन हो कि ? यो विषय के हो ? यो त्रुटि कहाँबाट भएको हो ? सरकारबाट हो कि ? प्रदेश प्रमुखको कार्यालयबाट हो कि ? यो के हो ?
शुभकामना दिने क्रममा सुरु मानै उहाँले भन्नुभयो, विषय वस्तुमा प्रवेश गर्नुभन्दा अघि म एउटा गम्भिर विषय उठाउन चाहन्छु, । सरकार र प्रदेश सभाको ध्यान जाहोस्, म अनुरोध गर्न चाहन्छु । सामान्यता प्रदेश सभाको बैठकको सूचना एक हप्ता अगाडि आउनु पर्छ । हामीले प्रदेश प्रमुखको पत्र सभामुखले पढेर सुनाउनुभयो त्यो पत्र माघ १५ गतेको पत्र छ ।
उहाँले मानीयहरुलाई (प्रदेश सभाका सदस्यहरुलाई) म्यासेज पनि तीन दिनअघि अगाडि मात्र गएको भन्दै भन्नुभयो, माननीय सभामुख महोदय यो अत्यन्तै गम्भिर विषय हो र पेचिलो विषय हो ।
नेता जम्कट्टेलले यदि नियतबस प्रदेश सभालाई अवमूल्यन गरिएको हो भने यो व्यवस्थाप्रतिको अवमूल्यन हो यो गणतन्त्रप्रतिको अवमूल्यन हो भन्दै यो विषयमा म सबैलाई गम्भिरतापूर्वक लिन अनुरोध गर्नुभयो ।
बागमती प्रदेश सरकारको माघ ११ गते बसेको मन्त्रीपरिषद् बैठकले माघ १८ गते ११ बजेका लागि प्रदेश सभाको अधिवशेन आव्हान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।
निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले मन्त्रीपरिषद् बैठकले निर्णय गरेकै दिन दिउँसो प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको थियो ।
प्रदेशमा सामान्यतया प्रदेश सभाको अधिवेशन सात दिन अघि आव्हान गर्ने प्रचलन रहेको छ । तर प्रदेश सरकारले सात दिनअघिनै प्रदेश सभाको अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिश पठाएपनि प्रदेश प्रमुखले तीन दिनअघिमात्र अधिवेशन आव्हान गर्नुभएको छ ।
बागमती प्रदेश सभाको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा प्रदेश सभा नियमावलीमा यति दिन अघि प्रदेश सभाको अधिवेशन आव्हान गर्नुपर्ने स्पष्ट उल्लेख नभएपनि सात दिनअघि प्रदेश सभा सदस्यलाई सूचना दिनुपर्ने प्रचलन रहेको बताउनुभयो । उहाँले टाडाबाट आउने प्रदेश सभाका सदस्यलाई आउन बाटो खर्च आवश्यक हुने र सहजताकालागि पनि सात दिने अघि प्रदेश सभाको बैठकसम्बन्धी सूचना प्रदेश सभा सदस्यलाई दिने अभ्यास र प्रचलन रहेको सुनाउनुभयो ।




