हेटौँडा, चैत २२ गते । मकवानपुरको कैलाश गाउँपालिकामा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन र सीप परीक्षणसम्बन्धी अन्तरक्रिया भएको छ ।
सीप जानेका तर प्रमाणपत्र नलिएका दक्ष जनशक्तिहरुको पहिचान र उनीहरुको सीपलाई बजारीकरणको लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो।
कार्यक्रममा नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाका प्रदेश प्रबन्धक शुकबहादुर चौधरीले सीप परीक्षण तथा प्रमाणीकरणमा र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा प्राविधिक शिक्षा, तालिम दिने संस्था र कार्यक्रमको वर्तमान अवस्थाबारे समेत जानकारी दिनुभयो । नेपालमा वार्षिक एक लाख १४ हजार दक्ष जनशक्ति उत्पादन हुने गरेको बताउँदै गाउँपालिकाभित्र रहेका सीपमूलक काम गरिरहेका जनशक्तिको सीप परीक्षणको प्रक्रिया र तालिमका साथै श्रम बजारबारे बताउनुभएको थियो ।
अहिले हामीले वार्षिक तीन पटक सीप परीक्षण गछौँ, उहाँले भन्नुभयो हालसम्म करिब साढे सात लाखले आवेदन दिए पनि सात लाखको सहभागिता भएको छ, पाँच लाखले प्रमाणपत्र प्राप्त गरेका छन्, प्रमाणपत्र प्राप्त गर्ने मध्ये ४६.८७ प्रतिशत महिलाहरु रहेका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाभित्र रहेका सीप जानेका तर प्रमाणपत्र नलिएका जनशक्तिलाई सीप परीक्षणमा सहभागिता जनाउने प्रतिवद्धता जनाउँदै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिनुका साथै रोजगार सिर्जना हुनाले सीपलाई परीक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत ईन्द्रप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।