खासकुरा संवाददाता
हेटौँडा, चैत २९ गते ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले दुर्गाप्रसाद प्रसाइसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँको तीनकुने क्षेत्रमा चैत १५ थते आगजनी, तोडफोडमा संलग्न भएको आरोपमा विर्तामोड नगरपालिका वडा नं. ५ बस्ने वर्ष ५४ का दुर्गा प्रसाद प्रसाईसमेत दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महा अभियान नेपालद्वारा दुर्गा प्रसाद प्रसाईको ’अगुवाइमा काठमाडौँको तीनकुने क्षेत्रमा आयोजित प्रदर्शनका क्रममा निज समेतका ब्यक्तिहरुले उपस्थित समर्थक एवं भिडलाई उत्तेजित बनाई संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्नका लागि सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरी, आफैले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँ सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराद्वारा जारी प्रस विज्ञप्तिमा आम सर्वसाधारणको सुरक्षार्थं सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीहरुलाई समेत ढुङगा, लाठी, फलामका रड, घरेलु हतियार समेतले प्रहार गरी सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरुलाई घाइते बनाएको उल्लेख छ ।
प्रेस विज्ञप्तिमा सर्वसाधारण मानिसहरुको घर, निजी सम्पत्ति, संचार गृहहरु रहेको भवन, विभिन्न राजनैतिक दलहरुको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरु, व्यापारिक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील÷अति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्ड समेतमा तोडफोड, आगजनी गरी गराईएको भनिएको छ ।
साथै आपराधिक प्रवेश गरी घरमा रहेका नगद, जिन्सी सरसामानहरुमा क्षति पुयाई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरी आतङ्कित पारी तथा पार्न लगाई पूर्व योजना अनुसार संगठित तवरले आपराधिक घटना घटाई मानिसको ज्यानै लिने समेतका आपराधिक कार्य गरी घटना वारदात पश्चात भागी फरार रहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ । प्रसाईसहित झापा बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ५१ को दीपक खड्कालाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट दिन १२ को मिलान म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँद्वारा विज्ञप्ति उल्लेख छ । दुवैजनालाई प्रहरीले शुक्रबार झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिएका हो ।