खासकुरा संवाददाता
हेटौँडा, वैशाख ७ गते । कास्की प्रहरीले नक्कली परिक्षार्थी पक्राउ गरेको छ । लोक सेवा आयोग, पोखरा कार्यालयको परीक्षा भवनमा संचालन भएको नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा अर्कैको परीक्षा दिने नक्कली परीक्षार्थी ज्ञानता विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शनिबार बिहान ८ः०० बजेदेखि जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ पार्दीस्थित आयोगको कार्यालयको परीक्षा भवनमा संचालन भएको नेपाल प्रहरीको विज्ञापन नं. ०३÷०८१–०८२ प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा दर्ता नं. ३३५९२ का परीक्षार्थी आरतीकुमारी मण्डलको नाममा परीक्षा दिएको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार धनकटा पाख्रीबास नगरपालिका वडा नं. ५ बस्ने वर्ष १९ की विश्वकर्माले अर्को व्यक्तिले परीक्षा दिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिई गएको प्रहरी टोलीले विश्वकर्मालाई अरुको नाममा परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । विश्वकर्मालाई कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसूरमा दिन सात म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरीको भनाई छ ।