मनाङ, वैशाख ७ गते । गण्डकी प्रदेशको विकट मानिएको हिमाली जिल्ला मनाङमा नियमित रुपमा सार्वजनिक बस सेवा सुरु भएको छ ।
ट्रयाक खोलिएको २२ वर्षपछि जिल्लाको सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा पुगेको हो ।
प्रतिनिधि सभा सदस्य एवं पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको प्रमुख आतिथ्यतामा आजदेखि नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरिएको हो ।
सांसद गुरुङले नेपाली सेनाले द्वन्द्वकालमा सुरुआत गरेको ट्रयाक खोल्ने कार्य द्वन्द्वकालमा नै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको मनाङको एक मात्र सडकमा बस सेवा सञ्चालन गर्ने लक्ष्य पुरा भएको बताउनुभयो ।
विसं २०८१ चैत ७ गते पहिलो पटक यात्रुबाहक बस आइपुगेको मनाङमा सहज रुपमा सार्वजनिक बस सेवा नियमित हुने गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।
प्रजिअ आचार्यका अनुसार बेसीशहर पोखरा रुट चल्ने कान्छा सफारीको ना ६ ख ९५७९ र ना७ख ७२६७ नम्बर बस नियमित रुपमा यात्रुसहित आवतजावत गर्नेछन् ।
सोही अनुरुप यसका लागि स्थानीय प्रशासनले डुम्रे–बेसीशहर–चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक समन्वयपछि बस सञ्चालनमा ल्याइएको छ ।
सफल रुपमा बस सेवा नियमित सञ्चालन भएपछि मनाङका स्थानीयमा खुशी छाएको छ ।
बेशीसहर–चामेसम्मको भाडादर ७४० रुपैयाँ कायम गरिएको छ ।
बस सञ्चालनमा आएपछि स्थानीयबासीलाई सहज हुनेछ ।
चर्को भाडाको मारमा परेका स्थानीयका साथै पर्यटकलाई आर्थिक भारसमेत कम हुने भएको छ ।