खासकुरा संवाददाता
हेटौँडा, वैशाख ९ गते ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको सहयोगमा साहित्यकार पारिजातको स्मृति दिवसमा खुला वक्तृत्वकला प्रतियोगिता हुनेभएको छ ।
‘सामाजिक रूपान्तरणमा राजनैतिक आन्दोलन’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता यही वैशाख २० गते हुनेभएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई सात हजार, तृतीय हुनेलाई चार हजार र सान्त्वना पुरस्कार एक हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतियोगीले यही वैशाख १२ गते साँझ ५ बजेसम्म आफ्नो नाम र आवश्यक विवरण टिपाइसक्नु पर्ने आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभयो । प्रतियोगिगतामा सहभागी हुने प्रतियोगीको छनोट भर्चुअल माध्यम जुममार्फत् हुने जनाइएको छ ।




