निर्णायक र अन्तिम लडाईंमा छौँः अध्यक्ष सुवेदी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १३ गते ।
नेपाल शिक्षक महासंघको आयोजनामा काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन २५ औँ दिन आन्दोलन यथावत जारी रहेको छ । शिक्षक महासङ्घ राष्ट्रिय समितिले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा रहेको छ । यसैबिच महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अहिले थुप्रै असजिला भएको भन्दै आन्दोलन आफैंमा कठिन कार्य हो र वार कि पारको लडाईंमा रहेको बताउनुभएको छ ।
यस्तो बेला नियमित भन्दा बढी बल लगाउनु पर्छ । यो कुरालाई मनन गरी सहभागिता बढाउनुहोला, उहाँले भन्नुभएको छ, हामी निर्णायक र अन्तिम लडाईंमा छौँ ।
उहाँले आन्दोलन स्थलमा पानीमा बोतलहरु छरप्रष्ट रहेको बताउँदै यो अवस्था नदोहोरिन, स्वयंसेवकहरुलाई यसमा निगरानी राखीदिन र हरेक साथीले आफूले पानी खाएको बोटल आफैं लिएर जानसमेत आग्रह गर्नुभएको छ ।
गत चैत २० गते देखि शिक्षकहरुको काठमाडौं केन्द्रित सडक प्रर्दशन र २५ गतेबाट शुरु शैक्षिक हड्तालका कारण नयाँ शैक्षिक सत्रसँगै शुरु हने भर्ना अभियान लगायतका शैक्षिक गतिविधि ठप्प छन् । देशभरका सामुदायिक विद्यालय बन्द छन्, कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । कक्षा १० को अन्तिम परीक्षाको उत्तर पुस्तिका परीक्षणको काम शुरु हुन सकेको छैन ।
यसैगरी आन्दोलन परिचालन समिति, मकवानपुरले शनिबार २५ औँ दिन पनि झन सशक्त रुपमा हाम्रो आन्दोलन यथावत जारी रहेको जनाएको छ । देशभरीबाट शिक्षक–कर्मचारीहरुको जनसागर काठमाडौँ आउने क्रम जारी रहेको भन्दै माइतीघर मण्डलामा जोर झण्डाको नजिक पूर्व तर्फ जेब्रा क्रसमा ठीक ११ः०० बजे मकवानपुरको ब्यानरमा एकत्रित भई शान्तिपूर्ण सडक प्रदर्शनमा सहभागी हुन समितिले आग्रह गरेको छ । आन्दोलनप्रति विभिन्न विद्यार्थी संघ संगठनहरुले समर्थन जनाएका छन् ।

ताजा समाचार

Related Articles