द्रुतमार्गको प्रगति ४० प्रतिशतभन्दा कम

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १८ गते ।
नेपालर सरकारको गौरवको आयोजनाको रुपमा रहेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको प्रगति ४० प्रतिशतभन्दा कम रहेको छ ।
निजगढबाट मकवानपुर हुँदै काठमाडौँ जोड्ने उक्त मार्गको गत चैत मसान्तसम्मको भौतिक प्रगति ३९.३४ प्रतिशत रहेको नेपाली सेनाले जनाएको छ । सेनाले सार्वजनिक गरेको गत चैत मसान्तसम्मको समष्टिगत वित्तीय प्रगति ४१.०६ प्रतिशत (मोविलाईजेशन सहित) रहेको छ ।
आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ (क), ८(ख), ९(क), ९(ख) र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको ।
उता प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्या साथै द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया शुरु हुन सकेको छैन ।
उक्त खण्डमा पर्ने जग्गाहरुको मुआब्जा वितरणको लागि सम्बन्धित पक्षसँग समन्वय भइरहेको भन्दै सेनाले जग्गा अधिग्रहण सम्बन्धी समस्या समाधानको लागि सम्भावित विकल्पहरुको डिजाइन कार्यको अगाडि बढिरहेको जनाएको छ । गत चैत १९ गते बुङ्गमती इलाकामा पर्ने बोसी खान्की गुठीको १०–०–०–१.०६ रोपनी क्षेत्रफल जग्गा आयोजनाको प्रयोजनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा प्राप्त भएको र हालसम्म स्वीकृत डिपिआर बमोजिम खोकना–बुँगमती इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १७८–९–०–१.७५ तथा मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी रहेको छ ।
द्रूतमार्ग अन्तर्गत द्रुतमार्गको सव बेस निर्माण, बायो इन्जिनियरिङ, ढल, रिट्यनिङ वाल र सर्भिस रोडको काम भईरहेको सेनाले सार्वजनिक गरेको द्रुतमार्गको प्रगति विवरणमा उल्लेख छ ।
७०.९९७ लम्बाई रहेको उक्त आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको कुल लागत दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ रहेकोमा हालसम्मको समष्टिगत खर्च ७५ अर्व १६ करोड रुपियाँ भएको जनाइएको छ । यस आयोजना निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई २०७४ साउनमा दिएको हो ।

ताजा समाचार

Related Articles