खासकुरा संवाददाता
हेटौँडा, वैशाख १८ गते ।
काठमाडौँ–तराई/मधेश दुर्तमार्ग सडक आयोजना अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका २ स्थित मौरीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा ११ जना घाइतेभएका छन् । 
गुन्युचोलीमा आएर बकैयाको हर्दाबाट निजगढतर्फ जाँदै गरेको मदेश प्रदेश ०३–००१ च ६३८२ नं.को पिकअप भ्यान गएराति ब्रेक फेल भएर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्तभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा उक्त गाडीमा सवार बकैया गाउँपालिका २ बस्ने वर्ष १६ को सुजन मोक्तान, २१ वर्षीय रिजन मोक्तान, बिन्दु कुमारी घलान, मकवानपुर मकवानपुरगढी गाउँपालिका ५ बस्ने वर्ष ३० की पूजा तामाङ, निजको छोरी वर्ष १३ की स्मृति तामाङ र निजको छोरी वर्ष ११ की आशा तामाङ रहेका छन् । प्रहरीका अनुसार
जिल्ला बारा निजगढ नगरपालिका ३ बस्ने वर्ष २८ का सोमबहादुर गोले, निजगढ ३ बस्ने वर्ष ६० की फूलमाया गोले, वर्ष १४ की कान्छिमाया बम्जन, वर्ष अं. १३ की सपना मोक्तान र निजगढ ४ बस्ने वर्ष ६५ को सुकुराम घिसिङ घाइतेभएका छन् ।
घाईतेहरुमध्ये १० जनाको निजगढस्थित प्रसूति गृह अस्पतालमा उपचारपछि बिहीबार बिहान डिस्चार्ज भएको र बाँया हात र बाँया पट्टीको करण भाँचिएका सुजन मोक्तानको उपचार भईरहेको छ ।
सवारी चालक निजगढ नगरपालिका ७ बस्ने वर्ष २९ का क्षेत्र पुलामी मगर प्रहरी नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।




