थाहा नगरमा बस दुर्घटनापछि माग सुनुवाई नभएको भन्दै स्थानीय बासिन्दा आन्दोलित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १४ गते ।
मकवानपुरको थाहा नगरपालिका ३ मा तीन जना पैदलयात्रुको ज्यान जाने गरी भएको घटनाको उचित सुनुवाई नभएको भन्दै स्थानीय बासिन्दा आन्दोलित बनेका छन् ।

सोमबार साँझ गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा. ३ ख. ५९९० नम्बरको बसको ठक्करबाट तीन जना पैदलयात्रीको ज्यान गएपछि पीडित पक्षले सो बस सम्बद्ध नारायणी यातायात व्यावसायी संघले माग सुनुवाई नगरेको भन्दै आन्दोलित बनेका हुन् ।

दुर्घटनापछि संघले जिम्मेवारी लिन र मृतक तथा घाइतेहरूको लागि क्षतिपूर्ति दिन तदारुकता नदेखाएको स्थानीयको भनाइ छ ।

संघले पीडित पक्ष र जनप्रतिनिधिसहित मंगलबार भएको छलफलमा पीडित पक्षको मागका बारेमा सम्झौता गर्न नमानेका कारण समस्या उत्पन्नभएको थाहा नगरपालिका वडा नं. ९ को कार्यालयले जनाएको छ ।

यातायात व्यवसायी संघ, जनप्रनितिधि र पीडितसहितको त्रिपक्षीय छलफल बिना निष्कर्ष सकिएको थियो । सहमति नजुटेपछि थाहा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजकुमार बलामीले एक सूचना जारी गर्दै आज बुधबार चित्लाङ–थानकोट सडक (गणेशमान मार्ग ) भएर चल्ने नारायणी यातायात व्यावसायी संघ मातहतका भाडाका सवारीसाधनलाई गुड्न नदिने बताउनुभएको छ ।

वडाध्यक्ष बलामीद्वारा हस्ताक्षरित सूचनामा पीडित पक्ष, जनप्रतिनिधि तथा नारायणी संघका प्रतिनिधि बीच भएको छलफलमा संघले सम्झौता गर्न आनाकानी गरेको भन्दै स्थानीयको माग अनुसार बुधबारबाट थानकोट–चित्लाङ सडकमा नारायणी यातायातसँग सम्बन्धित गाडीहरूको सञ्चालन बन्द गरिने उल्लेख छ ।

स्थानीय बासिन्दा आन्दोलित बनेपछि बुधबार नारायणी यातायातको पालुङबाट हेटौँडा काठमाडौँ छुट्ने सवारीका साधन चल्न नसकेको स्थानीय शम्भु अधिकारीले खासकुरालाई जानकारी दिनुभयो ।
सवारी साधन नचल्दा कामको लागि हेटौँडा, काठमाडौँलगायतका स्थानमा जानुपर्ने यात्रु मारमा परेका छन् ।

सोमबार भएको दुर्घटनामा स्थानीय झम्केश्वरी माविका दुई शिक्षकसहित तीन जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

उक्त दुर्घटनामा शिक्षकको मृत्युभएपछि थाहा नगरका सामुदायिक तथा निजी विद्यालयमा शोक बिदा दिइएको थियो ।

ताजा समाचार

Related Articles