समाचार संकलनमा रोक लगाएपछि प्रजिअको कार्यकक्षभित्रै प्रतिवाद

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ६ गते । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउनुभएको छ ।
समसामयिक घटनाका बारेमा शुक्रबार ध्यानाकर्षण गराउन नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिसहित हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु र राष्ट्रिय स्वतन्त्र पार्टीको छुट्टाछुट्टै गएको टोलीको समाचारका लागि भिडियो छायाङ्कनमा सञ्चारकर्मीलाई प्रजिअ श्रेष्ठले रोक लगाउनुभएको हो ।
यस्तै जिल्ला प्रशासन कार्यालयमा समाचार संकलन गर्न पुगेका केही सञ्चारकर्मीलाई प्रजिअको कार्यकक्षमा प्रवेशमा नै रोक लगाइएको थियो ।

दुवै टोली पुग्दा समाचारका लागि भिडियो छायाङ्कनमा रोक लगाएपछि समाचार संकलनमा पुगेका नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारीसहितका सञ्चारकर्मीहरुले प्रजिअ श्रेष्ठको उक्त कार्यको प्रतिवाद गरेका थिए ।
सञ्चारकर्मीले समाचारका लागि भिडियो छायाङ्कन गर्न पाउनुपर्ने र सञ्चारकर्मीको अधिकार भएको बताएपछि दल र जनप्रतिनिधिले सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउनु आपत्तिजनकभएको भन्दै विरोध जनाएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाउन रास्वपाका मकवानपुर अध्यक्ष भरत पराजुलीसहित गएको टोलीसँगको छलफल र ज्ञापनपत्र बुझाउन ज्ञापनपत्र वाचन गर्दाको समेत प्रजिअ श्रेष्ठले समाचारका लागि भिडियो छायाङ्कनमा रोक लगाउनुभयो ।
उता रास्वपाका जिल्ला अध्यक्ष पराजुलीसहितका पदाधिकारीले भिडियो छायाङ्कनमा रोक लगाउन नपाइने बताएपनि प्रजिअ श्रेष्ठले भिडियो छायाङ्कन गर्न नपाइने भन्दै तस्विर मात्र खिच्न अनुमति भएको बताउनुभयो ।

रास्वपाको टोली फर्किएपछि हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणको घटनाका बारेमा ध्यानाकर्षण गराउन पुगेको कांग्रेस हेटौँडा उपमहानगर समितिसहित हेटौँडा उपमहानगरपालिका जनप्रतिनिधिसँगको छलफलको पनि प्रजिअ श्रेष्ठले भिडियो छायाङ्कनमा रोक लगाउनुभयो ।
कार्यकक्षभित्र छलफल भएको भिडियो खिच्न पाइँदैन, हामीले गरेको कार्यक्रमको मात्र खिच्न पाइन्छ, हामीलाई माथिको यस्तै निर्देशन छ, प्रजिअ श्रेष्ठले दोहो¥याउनुभयो र संचारकर्मीलाई भन्नुभयो, तपाईलाई यहाँ भिडियो खिच्न अनुमति छैन, फोटो मात्र खिच्नुस् ।
प्रजिअको निर्देशनपछि प्रजिअका सुरक्षाकर्मीले भिडियो नखिच्न आग्रह गरेका थिए ।
प्रजिअको आदेशपछि त्यहाँ पुगेका सञ्चारकर्मीले प्रजिअको भिडियो खिच्न रोक लगाउने कार्यको पुनः प्रतिवाद गर्दै यसअघि संचारकर्मीलाई भिडियो खिच्न दिने गरेको स्मरण गराए ।
संचारकर्मीलाई समाचारका लागि भिडियो खिच्न रोक लगाउनु न्यायोचित नभएको भन्दै कांग्रेस सभापति उत्सव इटेनीसहित जनप्रतिनिधिहरुले प्रजिअको उक्त कार्यप्रति आपत्ति जनाउनुभयो ।
कांग्रेस सभापति इटेनीले भन्नुभयो, प्रजिअज्यू यो त सञ्चारकर्मीको अधिकार हनन् भयो, भिडियो खिच्न पाउनुपर्छ ।
यस्तै हेटौँडा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले प्रजिअ श्रेष्ठलाई प्रश्न गर्नुभयो, पत्रकारलाई भिडियो खिच्नै नदिनु र समाचार संकलनमा नै रोक लगाएर कस्तो पारदर्शीताको अभ्यास गर्दै छौँ ?

सबैले आग्रह गर्दासमेत प्रजिअ श्रेष्ठले सुनुवाई नगरेपछि पत्रकार, दलका नेता र जनप्रतिनिधिहरुले पत्रकारको अधिकारमाथि रोक लगाउन नपाउने जिकिरसहित खिच्न दिनै पर्ने भन्दै दवाव दिए । प्रजिअ श्रेष्ठ अन्तत छलफलको भिडियो खिच्न नपाइने शर्तसहित भिडियो खिच्न दिन राजी हुनुभयो ।
प्रजिअ श्रेष्ठले समाचारका लागि सुरुवातीमा भिडियो खिच्न भनेपछि सहभागीमध्ये एकले भन्नुभयो, अब बोलेको भिडियो खिच्न नपाइने भयो, एक छिन मौनधारण गरेर बसौँ, सहभागीबिच हासो छुट्यो ।
केहीबेरको मौनधारण पछि कांग्रेस सभापति इटेनीले प्रहरी प्रशासनको उदासिनताका कारण पछिल्लो समय हेटौँडामा सुरक्षा चुनौती बढेको जिकिर गर्नुभयो । वडाध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ नगरिएको भन्दै ध्यानाकर्षण गराउन प्रजिअकोमा उपमहानगरका ११ जना वडाध्यक्षसहित कार्यपालिका सदस्य पुग्नुभएको थियो ।
प्रजिअको कार्यकक्षमा सञ्चारकर्मीलाई समाचारका लागि छायाङ्कनमा मात्र होइन, समाचार संकलनका लागि गएको केही सञ्चारकर्मीलाई प्रजिअको कार्यकक्षमा प्रवेश गर्न दिइएको थिएन । यसैबिच जिल्ला प्रशासन कार्यालयमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई भिडियो छायांकन र समाचार संकलनममा रोक लगाइएकोप्रति नेपाल पत्रकार महासंघ, मकवानपुर, नेपाल प्रेस युनियन मकवानपुर शाखा, प्रेस चौतारी नेपाल मकवानपुर, प्रेस सेन्टर नेपाल मकवानपुर र स्वतन्त्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले गम्भीर ध्यानाकर्षण जनाएका छन्। साथै ती संस्थाहरुले उक्त घटनाको विरोध गर्दै पत्रकारहरुलाई निर्वाध काम गर्न दिन माग गरेका छन् ।

 

ताजा समाचार

Related Articles