खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २ गते । सुन भन्दै फलामको ढिक्का देखाई ठगी गर्ने तीन जना व्यक्तिलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले पक्राउ गरेको छ ।
गत असोज २३ गते काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ६ फेदी घर भइै हाल काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने ४६ वर्षीया गीता के.सी.लाई सुन भन्दै फलामको ढिक्का देखाई ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका वडा नं. ६ घर भइ हाल काठमाडौँको सुन्धारास्थित धुर्व पाटन होटेलमा बस्ने कर्णध्वज लिम्बु, धनकुटा जिल्ला चौबिसे गाउँपालिका वडा नं. ४ घर भइ हाल ललितपुरको लुभु बस्ने मानबहादुर सुवेदी र ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका वडा नं. ६ घर भई सुन्धरास्थित धुर्व पाटन होटेलमा बस्ने ४० वर्षीय विरेन भन्ने राम लिम्बु रहेका छन् ।

निज ६० वर्षीय कर्णध्वज विभिन्न मितिमा ठगी मुद्दामा पक्राउ परी धरौटीमा छुटेको र ५१ वर्षीय सुवेदी ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ परेको र ईलाका प्रहरी कार्यालय, लमही दाङबाट ठगी मुद्दा चली उक्त मुद्दामा फरार रहेको प्रहरी अभिलेखमा देखिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले नगद ११ लाख र ६० लाख रुपियाँको चेक समेत लिई ठगी गरी उनीहरु फरार भएको जानकारी प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा गत शुक्रबार असोज ३१ गते काठमाडौँको सुन्धारास्थित धुर्व पाटन होटेलबाट निजहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको छ ।

प्रहरीले उनीहरुको साथबाट कालो पहेंलो लेप लगाईएको धातुका ढिक्काहरु तीन थान, सिद्धार्थ बैंक लिमिटेडको ६० लाख रुपियाँको चेक एक थान र चार थान सिम कार्ड बरामद गरेको छ ।




