काठमाडौँ, मङ्सिर १७ गते । नेपाली काँग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य पदमा उम्मेदवार हुनका लागि नाम सिफारिस गर्न मातहतका स्थानीय निकायहरुलई परिपत्र गरेको छ । प्रदेश, जिल्ला, प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरिएको हो ।

परिपत्रमा कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई उम्मेदवार सिफारिस नगर्न भनिएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा खासगरी जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने उल्लेख छ ।

कांग्रेसको विधान अनुसार केन्द्रलाई बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । तल्लो तहबाट प्राप्त नामहरूका आधारमा संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्द सूची पेस गर्नका लागि आउदो पुस १८ र १९ गतेको मिति तोकेको छ । राष्ट्रिय सभामा रिक्त हुने सदस्यहरूका लागि आगामी माघ ११ गते र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचन फागुन२१ का लागि तोकिएको छ ।




