हेटौँडा, चैत २३ गते । मकवानपुरको कैलाश गाउँपालिकामा राष्ट्रिय महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधारभूत तालिम सुरु गरिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरले गाउँपालिकासँगको समन्वयमा सोमबारबाट १० दिने तालिम आयोजना गरेको हो । तालिमलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले स्वास्थ्य क्षेत्रकै ठुलो मेरुदण्डको रुपमा स्वास्थ्य स्वयंसेविका रहेको बताउँदै स्वंयसेविकाहरुलाई क्षमता, ज्ञान र सीप दिइदैँ अघि बढाइने बताउनुभयो ।

अध्यक्ष मुक्तानले तालिम पश्चात सिकेको सीपलाई समूदायमा गएर तपाईहरुले गर्नुपर्ने भूमिका, काम कतव्र्य र अधिकार प्रयोग गरी काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले स्वास्थ्य स्वयंसेविका भइ कार्य गरेका नयाँ स्वंमसेविकालाई तालिमको आयोजना गरिएको भन्दै १० जनाको संख्या पुगेपछि कार्यालयले आधारभूत तालिमहरु प्रदान गर्ने गरेको बताउनुभयो ।

उहाँले कैलाशमा ११ जना नयाँ भएकाले उहाँहरुको ज्ञान, सीप र क्षमता वृद्धि गर्न तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
११ जना स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको तालिमलाई सिनियर अनमी तारा थापा र आशा गुरुङले सहजीकरण गर्नुभएको स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतमले बताउनुभयो । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका लेखा प्रमुख अनिता न्यौपाने, स्वयंसेविका फोलक पर्सन आयुश्मा दाहाल, उर्मिला आचार्य, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमलगायतको उपस्थिति रहेको थियो ।




