पत्रकार महासंघ बागमती प्रदेशको साधारण सभा सुरु

लोकप्रिय

मकवानपुर, जेठ २३ गते । . नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको पाँचौ साधारण सभा हेटौँडामा सुरुभएको छ ।
महासङ्घ बागमती प्रदेशको शनिबार हेटौँडामा पाँचौ साधारण सभाको उद्घाटन कार्यक्रममा विभिन्न विधामा प्रत्रकारहरुलाई पुरस्कृत र सम्मानित गरेको छ ।
पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गरेवापत पत्रकारहरुलाई पुरस्कृत एवं सम्मानित गरेको हो ।
‘स्वर्गीय रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’ बाट काभ्रेपलाञ्चोककी भगवती तिमल्सिना, ‘उत्कृष्ट महिला पत्रकार पुरस्कार’ बाट चितवनकी पत्रकार प्रतिमा सिलवाल र ‘स्वर्गीय सुर्ज बहादुर सारू मगर स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी पुरस्कृत गरिएको छ ।
पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले जनही १५ हजार रुपियाँसहित उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा अग्रज पत्रकारहरु मकवानपुरका नवराज शर्मा, सिन्धुलीका शेषराज दाहाल र पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलाई सम्मान गरिएको छ । कार्यक्रममा पत्रकार महासङ्घ धादिङ जिल्ला शाखालाई उत्कृष्ट शाखाका रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले मिडियाले नागरिकको आवाज बोल्नुपर्ने बताउनुभयो ।
उहाँले अहिले पत्रकार महासङ्घ कठिन मोडमा रहेको चर्चा गर्दै संविधान संशोधनका क्रममा रहेकोले पत्रकारको अधिकारका लागि सचेत हुनुपर्ने बताउनुभयो ।
लोकतन्त्रिक मूल्य माध्यतामा रहेर सरकार चल्नुपर्छ अध्यक्ष शर्माले भन्नुभयो, अब हामीले पत्रकारसँगै नागरिकको अधिकारका लागि पनि आवाज उठाउनु पर्छ ।
उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम कोही कतैबाट हुन नहुने बताउनुभयो ।
पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, कोषाध्यक्ष रामकृष्ण अधिकारी, केन्द्रीय सदस्यद्वय नारायणप्रसाद अधिकारी र राजु विश्वकर्मालगायतले बोल्नुभएको थियो ।
साधारण सभाले मिडिया सम्मेलनमा उठेका सवालहरु र साधारण सभाका निर्णयहरुलाई समेटेर आइतबार हेटौँडा घोषणापत्र जारी गर्ने महासङ्घले जनाएको छ ।

ताजा समाचार

Related Articles