खासकुरा संवाददाता
हेटौँडा, वैशाख ५ गते ।
भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लामा विधमान भूमिसम्बन्धी समस्या समाधानका लागि जिल्लाका दसवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुसँग छलफल गरेको छ ।
जिल्लाका स्थानीय तहहरमा छलफलका क्रममा आयोगले बिहीबार भीमफेदी गाउँपालिकामा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यत्रम सम्पन्न गरेको छ ।
भीमफेदी गाउँपालिकामा भएको छलफल कार्यक्रममा आयोग मकवानपुरका अध्यक्ष बलराम बलले गाउँपालिकाका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर पहिचान र प्रमाणिकरण भईसकेको फाइलहरु आयोगको कार्यालयमा पठाएको ४०–५० दिनसम्ममा लालपूर्जा वितरण गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भूमिहिन दलित र सुकुम्बासीको पहिचान र प्रमाणीकरण गरी पालिकाका नौ वटै वडाबाट प्राप्त फाइलहरु कम्प्युटरमा प्रविष्ट गर्ने कार्य भईरहेको जानकारी दिनुभयो ।
आयोग मकवानपुरका सदस्य कविन सांगामीका अनुसार भीमफेदी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी १२ सय परिवारको पहिचान भएको बताउनुभयो ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जिव श्रेष्ठले भूमिहीन दलित, सुकुम्बासी, र अव्यवस्थित बसोबासीका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा आयोगकी सदस्य डिलमाया घर्ती, आयोग विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कंडेल, नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर राना, वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।