हेटौँडा, वैशाख ९ गते ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, हेटौँडाको आयोजनामा हेटौँडामा खेल पत्रकारहरुका लागि लक्षित गरी दुई दिने बागमती प्रदेशस्तरीय प्रशिक्षण सुरुभएको छ ।
प्रशिक्षणको मंगलबार हेटौँडामा उद्घाटन गर्दै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले सरकारले खेल क्षेत्रमा लगानी कम गर्दा खेलाडी विदेश पलायन बढेको बताउनुभयो ।
उहाँले बागमती प्रदेश खेलकुद क्षेत्रको हब भएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीमा ८० प्रतिशत बागमती प्रदेशबाटै प्रतिनिधित्व हुने गरेको चर्चा गर्दै खेल क्षेत्रको विकासका लागि तीनै तहको सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
चालु आर्थिक वर्षमा पनि खेलकुद क्षेत्रका लागि बजेट कम छ, आगामी आवको बजेटको सिलिङ पनि कम आएको छ मन्त्री महर्जनले भन्नुभयो, खेलकुदको महत्व नबुझ्दा समस्याभएको छ, खेलको पूर्वाधार निर्माणसँगै खेलकुदमा लगानी बढाएमा देशबाट युवा पलायन रोक्न सकिन्छ ।
उहाँले बजेट अभावका कारण चाहेर पनि पर्याप्त काम गर्न नसकेको भन्दै खेल क्षेत्रको विकासका लागि खेलकुद विधामा समाचार लेख्ने पत्रकारको क्षमता वृद्धि आवश्यक भएको बताउनुभयो ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले पहुँचका आधारमा खेल मैदान बनाउँदा लगानी पनि खेर गएको र लगानीको प्रतिफल पनि नपाएको भन्दै अब खेल क्षेत्रको विकासमा नयाँ सोच र योजना आवश्यक भएको औँल्याउनुभयो । उहाँले खेलकुदलाई पर्यटनसँग जोडेर लैजानुपर्ने र शाहसिक खेलको प्रवद्र्धन आवश्यकभएको जोड दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका युवा तथा खेलकुद महाशाखाका प्रमुख सूर्यबहादुर दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले खेलकुद क्षेत्रको विकासका लागि खेल पत्रकारको क्षमता अभिवृद्धिले सहयोग पुग्ने बताउनुभयो ।
बुधबारसम्म चल्ले प्रशिक्षणमा बागमती प्रदेशका १३ का पत्रकारहरुको सहभागिता रहेको छ ।




