खासकुरा संवाददाता
हेटौँडा, वैशाख ३१ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले युवाहरु लागू पदार्थ सेवनमा फस्नेक्रम बढेको बताउनुभएको छ ।
गाउँपालिकाको सभाहलमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा बुधबार भएको लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रमलाई अध्यक्ष मुक्तानले मकवानपुरका अधिकांश दुव्र्यसनीमा फसेको बताउनुभयो । उहाँले युवा पुस्ता लागूऔषध सेवनमा लागेको र यो समस्या बन्दै गएको बताउनुभयो ।
गाजाँ खेतीको विषयले बागमती प्रदेश सभा र संघीय संसदमा प्रवेश पाएसँगै गाँजा खेतीले वैधता पाउने विश्वास गाँजा खेती गर्नेको संख्या बढ्दो रहेको उहाँको भनाई छ । कैलाश र राक्सिराङमा कच्चा पदार्थ उत्पादन हुन्छ, त्यो भारत पुगेर लाखौं मूल्यमा नेपाल भित्रने गरेको भन्दै अध्यक्ष मुक्तानले भन्नुभयो हामी स्थानीय सरकारले चेतना अभिवृद्धि मात्रै गर्ने हो भने सुरक्षा निकाय बिउ देखीनै नष्ट गर्ने अभियानमा लाग्नुपर्ने सुझाउनुभयो ।
लागूपदार्थ दुव्र्यसनी सम्बन्धी कार्यक्रमहरु आगामी आर्थिक वर्षको नीति तथा योजनामा समेट्ने अध्यक्ष मुक्तानले बताउनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले गाँजा खेती अवैधानिक भएको भन्दै यसको उत्पादन, सेवन र बिक्री गर्न कानून विपरीत भएको बताउनुभयो ।
मकवानपुरको कैलाश र राक्सिराङ गाजाँ र अफिमको पहिचानले चिनिने अवस्था छ, त्यसलाई परिवर्तन जनप्रतिनिधिहरुले नै गर्नुपर्ने भन्दै उहाँले गाँजा र अफिम खेती, बिक्री वितरण र सेवन रोक्नुपर्ने बताउनुभयो ।
मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले दुव्र्यसनका चरणहरु, शारिरीक तथा मानसिक असरहरु, यूवाहरुमा परेको असरहरु, ऐनमा उल्लेख भएका विशेषता तथा दण्ड सजायबारे जानकारी दिनुभएको थियो ।
चालु आवको हालसम्ममा चार हजार तीन सय १७ किलो गाजाँ र २० किलो अफिम बरामद गरिसकेको तथ्याङ्क रहेको छ ।
कार्यक्रममा मकवानपुर रिकभरी समूहका अनिल लामाले आफ्ना अनुभव र दुव्र्यसनमा फस्ने किशोर अवस्था र युवाहरुको दुव्र्यसनको चक्रबारे प्रस्तुतीकरण प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, वडा नं. ७ का वडाध्यक्ष उदासकुमार भोलन, वडा नं. ९ का वडाध्यक्ष भुवन सिं घलान, मणिकलाल मुक्तान, रवीन्द्र थिङ, महेश चेपाङ, राजकुमार चेपाङ, राजेद्रन्द्र थिङले जिज्ञासा राख्नुका साथै नागरिकता तथा राष्ट्रिय परिचयपत्र वितरणमा सहजीकरण गर्नुपर्ने भनाई राख्नुभएको थियो ।
