हेटौँडामा प्रदेश बागमती प्रदेश स्पोर्ट्स अवार्ड हुने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १ गते ।
बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा हेटौँडामा प्रदेश बागमती प्रदेश स्पोर्ट्स अवार्ड २०८२ हुने भएको छ । प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई यही जेठ ४ गते अवार्ड कार्यक्रममा सम्मान गरिनेभएको हो ।
मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेका पूर्व र वर्तमान खेलाडीलाई सम्मान गर्न लागेको जानकारी दिनुभयो । उहाँले प्रदेश र सिङ्गो राष्ट्रको गरिमा बढाउन महत्वपूर्ण योगदान पुयाएका खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका निमित्त सचिव सूर्यबहादुर दाहालले प्रथम बागमती प्रदेश स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडी, महिला, पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, र उत्कृष्ट पत्रकारसमेत गरी आठ विधामा १२ जनालाई अर्वाड प्रदान गरिन बताउनुभयो ।
उहाँका अनुसार उत्कृष्ट खेलाडी महिला पुरुष, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान र प्रशिक्षकलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । बाँकीलाई जनही ५० हजार रुपियाँसहित पुरस्कृत गरिने छ ।
सो अवसरमा साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।
प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले यस्तो अवार्ड पहिलोपटक आयोजना गर्न लागेको हो । अवार्ड तयारी एवं व्यवस्थापन गर्न मन्त्रालयले दीपक श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक उपसमिति गठन गरेको छ ।
साथै युथ समिट केही सातापछि आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

Related Articles