हेटौँडा, जेठ ४ गते ।
बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रथम बागमती प्रदेश स्पोर्टस अवार्डमा कराते खेलाडी धादिङ एरिका गुरुङ र खोखो खेलाडी मकवानपुरका राजन बल वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मनित हुनुभएको छ । 

हेटौँडा ४ स्थित हुप्र चौरमा आइतबार आयोजित कार्यक्रममा राजनलाई उत्कृष्ट पुरूष खेलाडीको अवार्डसँगै एक लाख रुपियाँ प्रदान गरियो ।
कराते खेलाडी एरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्डसहित एक लाख रुपियाँ प्रदान गरिएको छ। यस्तै पेरिस पारा ओलम्पिक्सकी कास्य विजेता काठमाडौँकी पलेशा गोवर्धन उत्कृष्ट पारा खेलाडीको अवार्डसहित ५० हजार र एमेच्योर गल्फर काठमाडौँका सदभाव आचार्यलाई उत्कृष्ट युवा खेलाडी अवार्डसहित ५० हजार रुपियाँ प्रदान गरिएको छ ।

पारा तेक्वान्दो प्रशिक्षक मकवानपुरका कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षक अवार्डसहित एक लाख रुपियाँ र
तेक्वान्दो खेलाडी नुवाकोटकी संगिना वैद्य ‘बागमतीको सान अवार्ड’सँगै एक लाख रुपियाँसहित सम्मान गरिएको थियो ।

यसैगरी स्पोर्टस अवार्डमा एथलेटिक्सका बैकुण्ठ मानन्धर र दोलखाका जित बहादुर केसीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डसहित जनही एक लाख रुपियाँ प्रदान गरियो ।
यसैगरी स्पोर्टस अवार्ड भलिबल खेलाडी काठमाडौँ सलिना श्रेष्ठ, फुटबल खेलाडी मकवानपुर आयुष घलान र एथलेटिक्स खेलाडी धादिङकी सन्तोषी श्रेष्ठले लोकप्रिय खेलाडी अवार्डसँगै समान ५० हजार रुपियाँ प्राप्त गर्नुभएको छ ।

ललितपुरका विनोद महर्जनलाई उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्ड र खेल पत्रकार काठमाडौँका श्याम चित्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्ड जनही ५० हजार रुपियाँ प्रदान गरिएको थियो ।
आठ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको हो ।

अवार्ड कार्यक्रमममा अर्वाड वितरण गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देशको नाम स्थापित गर्न खेलकुदका माध्यमबाट खेलाडीहरुले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, खानेपानी उर्जा तथा सिंचाई मन्त्री श्याम खड्का, सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, प्रदेश युवा परिषदका सदस्य सचिव दीपक लामालगायतले अवार्ड वितरण गर्नुभएको थियो ।




