खासकुरा संवाददाता
हेटौँडा, जेठ १४ गते ।
गणतन्त्र दिवस २०८२ को अवसरमा मकवानपुरको भीमफेदीस्थित कारागारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कैदीबन्दी र सुरक्षाकर्मीको स्वास्थ्य जाँच गरिएको छ ।

बागमती प्रदेशको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र स्वास्थ्या मन्त्रालयको आयोजना तथा कारागार कार्यालय भीमफेदीको समन्वयमा गणतन्त्र दिवसको अवसरमा बुधबार निःशुल्क स्वास्थ्य परीक्षण तथा सामाग्रीहरू वितरण गरिएको हो ।

शिविरमा हाडजोर्नी तथा नसा, छाला रोग, क्षयरोग, मनोचिकित्सा, स्त्रीरोग र आन्तरिक चिकित्साका बिरामीहरुको स्वास्थ्य जाँचसँगै आयुर्वेद सम्बन्धी उपचार, एक्स–रे र भिडियो एक्स–रे सेवा शिविरमा प्रदान गरिएको कारागार प्रशासक सुवास पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा सुरक्षाकर्मी र कैदीबन्दीसहित ५०२ जनाको स्वास्थ्य जाँच गरिएको थियो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ प्रमुख आतिथ्यताभएको कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल, स्वास्थ्या मन्त्री किरण थापा मगर, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालगायतको उपस्थिति रहेको थियो ।

शिविरमा आठ जना चिकित्सकसहित ३७ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
निःशुल्क स्वास्थ्य शिविरसँगै विपद्का लागि उद्धार सामाग्रीहरू र खेलकुद सामाग्रीहरू हस्तारन्तण गरिएको थियो ।

यस्तै गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउने क्रममा हेटौँडामा वृक्षरोपण, रक्तदानलगायतका कार्यक्रमहरु प्रदेश सरकारको विभिन्न मन्त्रालयको आयोजनामा गरिएको छ ।




