हेटौँडा, जेठ २७ गते । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विपद् पूर्व गर्ने पर्ने आवश्यक तयारी गाउँपालिकाले गरेको बताउनुभएको छ ।

विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का लागि गाउँपालिका तयारी अवस्थामा रहेको पालिका रहेको भन्दै उहाँले विपति बाजा बजाएर नआउने भएकोले आवश्यक तयारीका साथ बस्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी मंगलबारभएको अन्तरक्रियाका साथै विपद् कन्टिजेन्सी योजना निर्माण कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले मानिसमा लाग्ने विभिन्न रोग प्रकोपका विपद् सँगै पशुपन्छीमा लाग्ने रोगव्यादी र विपद्का बारेमा पालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।

आगामी नीति तथा कार्यक्रममा विभिन्न कार्यक्रम समेट्ने गरी स्थानीय द्रुत प्रतिकार्य समिति मार्फत आवश्यक समन्वय र सहकार्य गरेर कार्य गरिने भन्दै अध्यक्ष मुक्तानले भन्नुभयो, मौसम परिवर्तनको समय छ, मौसमी रोगहरुको प्रकोप फैलिन सक्छ, सबै स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहनुस् ।

उहाँले गाउँपालिकामा प्रर्याप्त औषधि छ, अपुग भएमा माथिल्लो निकायसँग समन्वय गर्न आग्रह गर्नुभयो ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले रोगव्यादी मात्रै नभई बाढी पहिरोको जोखिम रहेकोले हामी तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । उपाध्यक्ष मल्लले भन्नुभयो, स्थानीय द्रुत प्रतिकार्य समिति र टोली तयारी अवस्थामा रहनुपर्छ ।

कार्यक्रममा डब्लुएचओका प्रतिनिधि डा. सविता पौडेलले स्थानीय द्रुत प्रतिकार्य समिति र टोलीले गर्नुपर्ने निर्देशिका, विश्वमा भएको विपद् तथा महामारीहरु, नेपालमा देखिएका ५२ वटा संक्रमण रोगहरु, सार्वजनिक महामारीका संकेतहरु, कैलाशमा जंगली च्याउको प्रयोग र त्यसबाट हुने असर, रोग निगरानी तथा महामारी व्यवस्थापनको तयारीका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले आरआरटी र आरआरसीको बारे जानकारी गराउँदै तीन तहको सरकारमा स्थानीय द्रुत प्रतिकार्य समिति र टोली बनेको अवस्थामा महामारीको प्रकृति अनुसार समिति र टोलीको निर्माण हुने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, डब्लुएचओका प्रतिनिधि डा. सविता पौडेल, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवलगायतको आतिथ्यता रहेको थियो ।




