खासकुरा संवाददाता
हेटौँडा, जेठ २७ गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ का दामोदर अधिकारीले सरकारले सहयोग नगरेको कारण लगानी गर्नबाट वञ्चितभएको बताउनुभएको छ ।

जापानमा १० वर्ष बसेर स्वदेशमा नै केही गर्नु पर्छ भन्दै हेटौँडामा लगानी गरी रोजगारी सिर्जना गर्ने तयारी गर्नुभएका अधिकारीले समाज र सरकारबाट सहयोग नपाएको बताउनुभएको हो ।

अधिकारीले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी देशभित्रै केही गर्नुपर्छ भन्ने सपना थियो तर स्थानीय बासिन्दा र सरकारकै असहयोग र अवरोधका कारण काम गर्ने वातावरण नपाएको बताउनुभयो । चार्जिङ स्टेसनसहित रिसोर्ट स्थापनासहित लगानी गर्नुभएका अधिकारीलाई स्थानीयको असहयोग र सरकारले सहजीकरण नगर्दा अहिलेसम्म गरेको लगानी समेत डुब्ने भएको छ ।

वडाध्यक्षदेखि हेटौँडा उपमहानगरपालिका हुँदै प्रमुख जिल्ला अधिकारीसम्म पुग्नुभएका उहाँले कतैबाट न्याय नपाएको भन्दै उहाँले भन्नुभयो, अहिलेसम्म गरेको लगानीसमेत धरापमा परेको छ ।

वडाध्यक्षकोमा जाँदा आफूले सक्दो सहयोग गरेको र समस्या छिमेकीको असहमतिका कारण आएको अधिकारीलाई बताउँदै आउनुभएको छ । आफ्नै ठाउँमा केही गरौँ भन्ने थियो तर सकिएन उहाँले भन्नभयो ।

प्रारम्भिक चरणमा चार्जिङ स्टेसनका लागि हेटौँडा उपमहानगरपालिका, नेपाल विद्युत प्राधिकरणलगायतका सबै सम्बन्धित सरकारी निकायबाट स्वीकृति प्राप्त गरेको र करिब २० लाख रुपियाँ लगानी समेत गरिसकेको उहाँले जानकारी दिनुभयो ।
अहिले विभिन्न दलका नेताहरू र स्थानीय बासिन्दाहरूको असहयोगका कारण थप काम अगाडि बढाउन नसकेको उहाँले भन्नुभयो ।
रोजगारीको अवसरसमेत सिर्जना हुने भन्दै उहाँले लगानीको वातावरण नभएको भन्दै उहाँले यी र यस्तै कारणले युवा विदेश पलायन भएको बताउनुभयो ।




